सिमरा । होली पर्वको अवसरमा खसीको नाममा बाख्राको मासु बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ निवासी शेख ओहानलाई १३ केजी बाख्रा र खसीको मासुसहित सिमरा चोकबाट नियन्त्रणमा लिइएको हो ।
यसैगरी, वडा नम्बर ७ मा सञ्चालन हुँदै आएका ‘प्रवेश फ्रेस हाउस’का सञ्चालक रफिक देवान र ‘मुस्कान फ्रेस हाउस’का सञ्चालक अहमुल्ला देवानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार पक्राउ परेका व्यापारीहरू माथि ईलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, होलीको दिन सवारी नियम उल्लंघन गर्ने ८२ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने झगडा गर्ने ६ जनालाई सम्झाइ बुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।




