सिरहा । सिरहामा नक्कली बुवा बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने आरोपमा अमानत मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बिहार राज्यको मधुबनी जिल्ला, जयनगर ग्राम पंचायत देउधाका मोस्ताक मियाँको नक्कली बुवा बनेर नागरिकता दिलाउने नरहा गाउँपालिका ३ खोरीयाका अमानत मियाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
वडाले सिफारिसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोस्ताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरेको थियो । नक्कली बुवा बनेका अमानत मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मियाँलाई नियन्त्रणमा लिइए पनि विभिन्न राजनीतिक दबावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयहरूको आरोप छ । नेपालमा सानालाई ऐन र ठुलालाई चैन भनेझैँ यो घटनाक्रमले देखाएको स्थानीयहरूको भनाइ छ ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिब डेढ वर्षअघि स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएन । आर्थिक प्रभाव र राजनीतिक दबावका कारण कार्यवाही प्रक्रिया रोकिएको थियो ।
न्यूज कारखाना लगायत विभिन्न मिडियामा समाचार प्रसारण भएपछि सिराहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले पनि सदनमा आवाज उठाएका थिए । सदनमा आवाज उठेपछि कार्यवाही प्रक्रिया अगाडि बढाइएको स्रोतको दाबी छ ।
सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।
नरहा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरिकसँग दुई लाख भारतीय रुपैया लिएर नागरिकताको सिफारिस गरेको समाचार प्रसारण भएको थियो ।




