रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको रूपमा कार्यरत रहेका कृष्ण प्रसाद सिग्देल र कीर्तिराज सुवेदीलाई विशेष अदालतबाट सफाइ पाएको १० महिना पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग उक्त फैसलाको पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारले २०८० साल कार्तिक १७ गते विशेष अदालतमा मुद्दा दायर गर्दै नगरपालिकाका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल, लेखा अधिकृत (राजस्व शाखा प्रमुख) कीर्तिराज सुवेदी, आंशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरै लगायतलाई भ्रष्टाचार आरोपमा कानुनी कारबाहीको माग गरेको थियो ।
अख्तियारको दाबी अनुसार, आरोपीहरूले ठेकेदारसँग मिलेर अनियमित ढंगले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन गरी ५५ लाख २ हजार १९८ रुपैयाँ बराबरको राजस्व छली गरेका थिए । विशेष अदालतका न्यायाधीश टेक नारायण कुंवर र मुरारीबाबु श्रेष्ठको इजलासले नगरप्रमुख रामचन्द्र चौधरीसहित अन्य तीन जनालाई दोषी ठहर गर्दै कैद सजाय तथा जरिवाना तोकेको थियो ।
विशेष अदालतले चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो निर्धारण गर्दै दोब्बर रकम ७४ लाख ६९ हजार ३ सय ९६ रुपैयाँ जरिवाना तोकेको थियो । तर, प्रमुख प्रशासकीय अधिकृत सिग्देल र लेखा अधिकृत सुवेदीलाई सफाइ दिएको थियो ।
विशेष अदालतको उक्त फैसलापछि करिब १० महिना बितिसकेको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्दै सर्वोच्च अदालत पुगेको हो ।
अख्तियारले विशेष अदालतबाट सफाइ पाएका आरोपीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै पुनरावेदन गरेको जनाएको छ । अब सर्वोच्च अदालतले यस मुद्दामा पुनरावलोकन गर्नेछ ।




