सिराहा । सिराहाको मिर्चैया नगरपालिका ६ स्थित जिवा खोलानजिक बिहीबार दिउँसो एक स्कार्पियो गाडीमा अचानक आगलागी भएको छ । मिर्चैयाबाट बर्दिबासतर्फ गइरहेको बा १३ च १३२९ नम्बरको स्कार्पियो गाडीमा आगलागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।
स्थानीयका अनुसार, गाडी गुड्दै गर्दा अचानक अगाडिको भागबाट धुवाँ निस्कन थालेपछि आगलागी भएको हो । आगलागीको खबर पाएपछि स्थानीय बासिन्दा र प्रहरी टोली घटनास्थलमा पुगेका थिए । दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार, आगलागीको कारण विद्युत् सर्टसर्किट भएको हुन सक्ने अनुमान गरिएको छ । यस घटनामा कुनै मानवीय क्षति नभएपनि गाडीको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । थप अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।




