सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका १९ कटहा कालाबन्जरमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले शनिबार दिउँसो डाईजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र नाइट्राजेपाम ३४० ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी गाउँपालिका २ का २१ वर्षीय अमरेश कुमार यादव, लहान नगरपालिका २ का २३ वर्षीय पंकज शर्मा र लहान नगरपालिका १ का १९ वर्षीय राजिव कुमार दास रहेका छन् । प्रहरीले स ६ प ११४३ नम्बरको मोटरसाइकलमा कालाबन्जरतर्फ आउँदै गरेको बेला लहानको छरापटी चोकमा जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




