सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित ताज गेस्ट हाउसमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । प्रहरीका अनुसार मृतक भारत, दिल्ली उत्तरपूर्वी सुदामापुरी निवासी २८ वर्षीया आरती कुमारी हुन् ।
गेस्ट हाउसको १०९ नम्बर कोठामा बाल्टिनको सहारा लिएर सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका उत्पन्न भयो । गेस्ट हाउसका कर्मचारीहरूले झ्यालबाट हेर्दा उनी झुन्डिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरे ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कोठा हरिवन नगरपालिका ११ निवासी मो. सेराज नामक व्यक्तिले चैत ११ गते आफ्नो नाममा बुक गरेको खुल्न आएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार सेराज पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए । उनी आज बिहान पनि आरतीसँग भेटेर फर्किएका थिए ।
घटनास्थलबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ, जसले घटनालाई झनै शंकास्पद बनाएको छ । हाल प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।




