सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका १ मा रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था दयनीय देखिएको छ । विद्यालयमा ढोका छैन, खानेपानी र शौचालय जस्ता आधारभूत सुविधा समेत उपलब्ध छैनन् । अझ डेक्स-बेन्चको त झन् अभाव छ ।
विद्यालयको कागजी रूपमा २०६७ सालदेखि सञ्चालनमा रहेको देखिए पनि वास्तविकता निकै फरक छ । विद्यालयमा हाल तीन कक्षासम्म पढाइ हुने र दुई शिक्षक कार्यरत रहेको गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार प्रधानाध्यापक नरेशकुमार यादव राहत कोटाबाट नियुक्त छन्, भने स्वयंसेवक शिक्षक सन्तकुमार यादव पनि त्यहाँ कार्यरत छन् । विद्यालयमा ३०/४० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
न शिक्षक आउँछन्, न विद्यार्थी
स्थानीय बासिन्दाका अनुसार विद्यालयमा न त नियमित रूपमा शिक्षक नै आउँछन्, न विद्यार्थी । बिहान १० बजे विद्यालय खुल्ने भनिएपनि उक्त समयमा कहिल्यै सञ्चालन भएको देखिएको छैन । एक स्थानीय बासिन्दाले भने- ‘१०/१५ दिनमा एक पटक प्रधानाध्यापक नरेश सर आउनुहुन्छ । नियमित रूपमा विद्यालय सञ्चालन भएको कहिल्यै देखिएन ।’
तर, प्रधानाध्यापक यादवले भने आफू नियमित विद्यालय आउने दाबी गरे । तर, १० बजे विद्यालय सञ्चालनको समयमा कहिल्यै पनि उपस्थित देखिँदैनन् । उनले विद्यालयमा पूर्वाधार अभावका कारण बिहीबार गाउँपालिकामा भवन निर्माणका लागि छलफल गर्न गएकाले विद्यालय नगएको बताए ।
विद्यालय कागजमै सीमित
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवका अनुसार यो विद्यालय अहिलेसम्म कागजमा मात्र सीमित रहेको पाइएको छ । उनले आफू पालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालयको वास्तविक अवस्था बुझ्दा कुनै पूर्वाधार नै नभएको थाहा पाएको बताए ।
‘विद्यालयको अस्तित्व कागजमै मात्र थियो । न भवन छ, न खानेपानी, न शौचालय । अनुगमनका क्रममा १७/१८ जना विद्यार्थी मात्र भेटिए । अवस्था अत्यन्तै दयनीय भएकाले सुधार गर्न यस वर्ष १० लाख बजेट छुट्याइएको छ, जसबाट भवन निर्माण थालिनेछ,’ अध्यक्ष यादवले बताए ।
शिक्षकहरू विद्यालय नआउने तर तलब लिने प्रवृत्तिमा गाउँपालिका गम्भीर रहेको र यस बारे कडाइका साथ कारबाही गर्ने चेतावनी उनले दिए । अध्यक्ष यादवले आफू निर्वाचित भएदेखि नै सरकारी विद्यालयहरूको सुधारमा ध्यान दिँदै आएको दाबी गरे ।
विद्यालयको अवस्था सुधारका लागि स्थानीय तह र प्रशासनले आवश्यक कदम चाँडै नै चाल्ने आशा गरिएको छ ।




