रौतहट । रौतहट जिल्लाको मध्य क्षेत्रस्थित गरुडा नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय अधिकृतविहीन अवस्थामा नायब सुब्बाहरूको भरमा सञ्चालन भइरहेको छ । विगत नौ महिनादेखि कार्यालय प्रमुखको पदस्थापन नहुँदा पनि सम्बन्धित निकायको ध्यान गएको छैन ।
२०७३ सालमा स्थापना भएको यस कार्यालयले गरुडा नगरपालिकाका १ देखि ८ नम्बर वडा, माधव नारायण नगरपालिकाका ९ वटै वडा तथा गढीमाई नगरपालिकाका ९ वटै वडाका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।
नागरिकता, राष्ट्रिय परिचय पत्र तथा अन्य प्रशासनिक कामका लागि खोलिएको कार्यालयमा आवश्यक दरबन्दी अनुसार प्रमुख अधिकारी नहुँदा सेवाग्राहीहरूले कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद कलवारका अनुसार कार्यालय प्रमुखको अभावले स्थानीय नागरिकदेखि व्यापारी, उद्योगी तथा वित्तीय संस्थासम्म प्रभावित भएका छन् ।
२०७६ साल कात्तिक ८ गतेदेखि नायब सुब्बा रामस्वार्थ राय यादव निमित्त कार्यालय प्रमुखका रूपमा कार्यरत छन् । कानुनी प्रावधान अनुसार एक वर्षमा अधिकतम छ महिनाका लागि मात्र निमित्त प्रमुख तोक्न पाइने भए पनि यादवले पाँच वर्षदेखि यो भूमिका सम्हालिरहेका छन् ।
२०८० साल फागुनमा शाखा अधिकृत मनिष झालाई कार्यालय प्रमुखका रूपमा पठाइए पनि तीन महिनामै सरुवा भएपछि पुनः नायब सुब्बा यादवकै भरमा कार्यालय सञ्चालन भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरूको न्यून चासोका कारण कार्यालय व्यवस्थापनमा सुधार आउन नसकेको सेवाग्राहीहरूको गुनासो छ ।




