रौतहट । रौतहटको गरुडा नगरपालिका ५ स्थित ठाकुर ग्रिल उद्योगमा सोमबार राति विद्युत सर्टका कारण आगलागी हुँदा करिब १० लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
राति ९ बजे आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका ओमप्रकाश यादवको नेतृत्वमा प्रहरी टोली, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आगलागीका कारण उद्योगमा रहेका टायर, वेल्डिङ मेसिन, मोबिल, ब्याट्री, सर्विसिङका सामान, दराज, दराज बक्स, हावा ट्यांकी तथा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार आगलागीबाट ठूलो मात्रामा धनमाल नष्ट भए पनि कुनै मानवीय क्षति भएको छैन ।
यसैगरी, राति ९:३० बजे इशनाथ नगरपालिका ६ जयनगरस्थित शेख वसिर अख्तरको घरमा विद्युत तार सर्ट भई आगलागी भएको थियो । स्थानीयबासी र प्रहरीको सक्रियतामा आगो तत्काल नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुनबाट जोगिएको डिएसपी रायले जानकारी दिए ।
उक्त आगलागीबाट एक थान खाट, टिभी र साइकल गरी करिब ३८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।




