वीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव पुन: सरुवा भएका छन् । उनले फागुन १५ गते पदभार ग्रहण गरेका थिए भने चैत १७ गते आइतबार सरुवा भएको पत्र प्राप्त गरेका थिए ।
श्रीवास्तवको सरुवा जिल्ला समन्वय समिति, पर्सामा गरिएको छ । उनले चैत १९ गते रवानापत्र बुझेका छन् र बिहीबार समन्वय समितिमा हाजिर हुने बताएका छन् । नगरप्रमुख प्रदुमन चौहानसँगको मतभेदका कारण श्रीवास्तवको सरुवा गरिएको बताइएको छ ।
प्रशासनिक र आर्थिक काममा उनले मेयरको दबाब स्वीकार नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पहल गरेर उनको सरुवा गराइएको स्रोतको दाबी छ ।
पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू बारम्बार सरुवा हुने प्रवृत्ति देखिएको छ । यसअघि पनि विभिन्न प्रशासकीय अधिकृतहरू छोटो अवधिमै सरुवा भइसकेका छन् ।
२०७९ साल फागुन ८ गते दरबन्दी भई आएका धर्मानन्द जोशी ३९ दिनमै सरुवा भएका थिए । त्यसैगरी, २०८० साल जेठ २ गते हाजिर भएका देवेन्द्र सापकोटा पनि ३ महिनामै सरुवा गरिएका थिए ।
सबैभन्दा लामो समयसम्म पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव हुन् । २०८० साल आश्विन १८ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका उनी २०८१ माघसम्म कार्यरत थिए ।




