सर्लाही । सर्लाही जिल्लामा प्रहरीले अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो र राति भएका दुई छुट्टाछुट्टै कारबाहीमा प्रहरीले कुल २३ किलो ७ सय १० ग्राम गाँजा बरामद गरेको हो ।
बुधबार दिउँसो बागमती नगरपालिका १२ बथाने टोल निवासी ७६ वर्षीय मान बहादुर बललाई १६ किलो ५ सय ग्राम गाँजा सहित पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले उनको घरमा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
यस्तै, बुधबार राति ईश्वरपुर नगरपालिका १२ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो २ सय १० ग्राम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम १७ निवासी ३० वर्षीय शम्भु कुमार कुशवाहा र सोही क्षेत्रको ग्राम १६ निवासी २५ वर्षीय संजय ठाकुर शर्मा रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारीबथान र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले ज १२ प ९०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध सम्बन्धी कानुनी कारबाही अघि बढाउने जनाएको छ ।




