कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ स्थित बनगाउँबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । पक्राउ परेकाहरू दुबै स्थानीय बासिन्दा हुन् ।
पहिलो घटनामा, ३१ वर्षीय किशोर भट्टलाई १ ग्राम ६ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, बनगाउँ भगवती टोलमा बस्ने ३० वर्षीय दिपेश बोगटीलाई पनि ८ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ । प्रहरीले उनको घरमा तलासी गर्दा उक्त लागूपदार्थ फेला पारेको थियो ।
प्रहरीका अनुसार, दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले अवैध लागूऔषध कारोबारविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।




