महोत्तरी । भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत कर्मचारी र एक कानून व्यवसायी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सेवाग्राहीसँग जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गरिदिने भन्दै रु ३५ हजार घुस माग गरेको उजुरीको आधारमा अख्तियार आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोलाई रंगेहात पक्राउ गरेको हो ।
घटनाको अनुसन्धानको क्रममा नायब सुब्बा दिपेन्द्र नारायण चौधरी, खरिदार मुन्नु कुमार दास र कानून व्यवसायी जिवछ महतोको आपसी मिलोमतोमा सेवाग्राहीसँग रकम असुल गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।
घटना सम्बन्धी विवरण र प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीनै जनाविरुद्ध बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
यस घटनाले सरकारी कार्यालयमा हुने घुस प्रथाविरुद्धको अभियानलाई थप बल पुग्ने विश्वास अख्तियारले व्यक्त गरेको छ ।




