सिराहा । सिराहा जिल्लाका विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले शनिबार साँझदेखि रातिसम्मको समयमा पक्राउ गरेको छ । सिरहा नगरपालिका १४ लच्काबाट करिब ९२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई युवालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ८ निवासी १९ वर्षीय सुशान्त पंजियार र मिर्चैया नगरपालिका ५ निवासी २० वर्षीय विजय महतो रहेका छन् । भारतको जयनगरबाट सिराहातर्फ आइरहेको म प्र ०१–००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले खिरौना प्रहरी चौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको टोली परिचालन गरेर पक्राउ गरेको हो । त्यसैगरी, सोही दिन साँझ सिरहा नगरपालिका १४ लच्काबाट खैरो हेरोइन जस्तो देखिने करिब २३.९५ ग्राम लागूऔषधसहित काठमाडौं महानगरपालिका ११ निवासी २१ वर्षीय सुनिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
ना ४ ख ४७१३ नम्बरको यात्रुबस जाँच गर्ने क्रममा बसभित्र सवार तामाङको साथबाट उक्त पदार्थ फेला पारिएको हो । यस्तै, लहान नगरपालिका ३, अस्पताल चोकबाट करिब ३३ ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित थप तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका ९ निवासी २१ वर्षीय पवन साह, सोही नगरपालिका ८ निवासी २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । लागूऔषध सम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।




