सप्तरी । सप्तरी जिल्लाका विभिन्न स्थानहरूमा विद्युत सर्ट र अन्य कारणले भएको आगलागीका घटनाहरूमा तीन घर तथा व्यवसायिक पसलमा गरी करिब २३ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।
कन्चनरूप नगरपालिका १० भडाहा मुसरी टोलमा बसोबास गर्ने ५१ वर्षीय भरत साहको घरमा शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीका कारण घर, भित्र रहेका लत्ताकपडा, भाँडावर्तन, नगद रकम, सुन तथा चाँदीका गरगहना लगायतका सरसामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरी, खडक नगरपालिका ८ बिषनपुर चोकमा नगेन्द्र चौधरीको फर्निचर पसलमा पनि शनिबार दिउँसो विद्युत सर्टकै कारण आगलागी भएको छ । आगलागीले पसलमा रहेका फर्निचर र कच्चा सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
यस्तै अर्को घटनामा राजगढ गाउँपालिका ६, फकिरा निवासी कपलेश्वर यादवको घर तथा गोठमा आइतबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।
तीनवटै स्थानमा स्थानीय बासिन्दाहरू, सुरक्षाकर्मी तथा दमकलको सहकार्यमा आगो नियन्त्रणमा लिइएको थियो । यस्ता घटनाबाट ठूलो मानवीय क्षति नभए पनि आर्थिक रुपमा गम्भीर असर पुगेको र प्रभावित परिवारलाई आवश्यक सहयोगका उपायहरू खोजिने स्थानीय प्रशासनले जनाएको छ ।




