महोत्तरी । जयनगर–बर्दिवास रेल्वे परियोजनाअन्तर्गत अधिग्रहण गरिएका जग्गाको वर्गीकरण त्रुटि सच्याउने रेल विभागको निर्णयपछि वर्षौंदेखि उचित मुआब्जा नपाएका जग्गाधनीमा आशाको किरण देखिएको छ ।
बर्दिवास नगरपालिका १४ स्थित खोल्सीपैनी पश्चिमका ६ बिघा र भङ्गाहा ४ का १५ कट्ठा जग्गाको वर्गीकरण त्रुटिपूर्ण भएको भन्दै स्थानीय जग्गाधनीहरू आन्दोलनरत थिए । विभागले स्थानीय प्रशासन, नापी कार्यालय, जनप्रतिनिधि र पीडित जग्गाधनीहरूको सहभागितामा बसेको बैठकमा वर्गीकरण त्रुटि सच्याइने प्रतिबद्धता जनाएपछि निर्माण रोकिएको भङ्गाहा–बर्दिवास खण्डको काम अघि बढ्ने संकेत देखिएको हो ।
रेल विभागका प्रतिनिधि सुमोद पोखरेलले वर्गीकरण त्रुटि सच्याउने प्रतिवद्धता जनाएपछि भङ्गाहा ४ का कुशेश्वर यादव लगायतका जग्गाधनीले अब उचित मुआब्जा पाउनेमा आशा व्यक्त गरेका छन् । यादवको सडकसँग जोडिएको जग्गा अधिग्रहण गर्दा नक्साङ्कनमा सडक नदेखिएकोले कम मुआब्जा तोकिएको थियो ।
बर्दिवास १४ को खोल्सीपैनी पश्चिममा ३५ किसानको जग्गा वर्गीकरण फरक परेपछि उनीहरूले आन्दोलन गरेका थिए । रेल्वे आयोजनाका पीडितहरूले गठित संघर्ष समितिका अध्यक्ष निरोज अधिकारीका अनुसार, “हामीले बढी मुआब्जा मागेका होइनौं, वास्तविक वर्गीकरण अनुसारको हकको माग गरेका हौं ।”
भङ्गाहा र बर्दिवास क्षेत्रका केही जग्गा नक्साङ्कनमा सडकले छोएको नभएको विवादले प्रभावित बनेको छ । सडकले छोएको जग्गाको प्रतिकट्ठा मुआब्जा ६ लाख र नछोएको जग्गाको १ लाख ५० हजार निर्धारण गरिएको भए पनि वर्गीकरण त्रुटिका कारण मुआब्जा वितरणमा अन्याय भएको जग्गाधनीहरूको आरोप छ ।
बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षत्रीका अनुसार, अब वर्गीकरण त्रुटि सच्याइएपछि ट्र्याक निर्माण कार्य पुन: अघि बढ्नेछ । यद्यपि, बर्दिवास १४ का पूर्व–पश्चिम रेलमार्गमा परेका १४ घरधुरीको मुआब्जा विवाद अझै जटिल अवस्थामा छ । यी १४ परिवार स्व. निरबहादुर हमालको नाममा रहेको तर प्रमाणपुर्जा नबनेको जग्गामा ४० वर्षदेखि बसोबास गर्दै आएका हुन् ।
मुआब्जा दिन कानुनी आधार नभएको भन्दै रेल विभागले असमर्थता जनाएपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले हकदाबीको सूचना प्रकाशित गरी नेपाल सरकारलाई आवश्यक निर्णयका लागि सिफारिस गरिने बताए । विगतका विवाद र अन्योलता हटाउने दिशामा विभागको यो पहल सकारात्मक मानिँदैछ । अब प्रभावित जग्गाधनीलाई न्याय सुनिश्चित गर्न प्रस्ट प्रक्रिया र शीघ्र कार्यान्वयन आवश्यक देखिन्छ ।




