सर्लाही । सर्लाही प्रहरीले विशेष सूचनाका आधारमा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति हरिवन नगरपालिका ३ डाबरी टोलका ३६ वर्षीय मानबहादुर घिसिङ हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, मलंगवाबाट प्राप्त सूचनाको आधारमा इकाला प्रहरी चौकी अन्तर्गत प्रहरी निरीक्षक किशोर तामाङको नेतृत्वमा खटिएको टोलीले हरिवन ३ मोहनपुर टोलस्थित सडकमा चेकजाँचको क्रममा उक्त कारबाही गरेको हो ।
गएराति करिब १२:३० बजे ना २४ प ६९०३ नम्बरको मोटरसाइकलमा सवार घिसिङले पछाडि बाँधिएको दुई वटा बोरामा लागुऔषध लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बोराबाट ओनरेक्स १०० एमएलको १४५ बोतल र वाइनकरेक्स १०० एमएलको ३१३ बोतल गरी कुल ४५८ बोतल लागुऔषध बरामद गरिएको छ । घिसिङलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई हिरासतमा राखिएको छ ।
हाल उनलाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीको प्रेस नोटमा उल्लेख गरिएको छ । यस प्रकारको सफल कारबाहीले सर्लाहीमा बढ्दो लागुऔषध कारोबार नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको विश्वास छ ।




