वीरगंज । आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले एक बुवालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटी, काठमाडौं र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चैत २२ गते दिउँसो ३ बजे उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार, घटनासँग सम्बन्धित बाल यौन शोषण सामग्री भएको भिडियो मोबाइलबाट फेला परेको छ । ती भिडियोहरू गुगल ड्राइभमा सुरक्षित गरिएको समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार, आरोपितले डिजिटल माध्यमको दुरुपयोग गर्दै आफ्नै छोरीलाई अश्लील सामग्री देखाएर बलात्कार गरेका थिए । घटनामा प्रयोग गरिएको मोबाइल उपकरण पनि बरामद गरिएको छ ।
घटनाको संवेदनशीलता र पीडितको सुरक्षाका कारण आरोपीको पहिचान गोप्य राखिएको छ । उनलाई अहिले करणी सम्बन्धी कसुर र विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
पर्सा जिल्ला अदालतबाट उनलाई सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले घटनालाई गम्भीर अपराधको रूपमा लिँदै थप प्रमाण सङ्कलन तथा अनुसन्धान तीव्र बनाएको जनाएको छ ।




