रौतहट । रौतहटको ईशनाथ नगरपालिका १ स्थित बन्जरहा झुलुङ्गे पुलबाट प्रहरीले एक युवकलाई कटुवा पेस्तोल, गोली र ठूलो परिमाणको गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलिया निवासी २१ वर्षीय सावन गिरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गिरीलाई गएराति नियन्त्रणमा लिएको हो । उनको साथबाट कटुवा पेस्तोल १ थान, तीन राउण्ड गोली र झण्डै ८० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल सावन गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले अवैध हतियार र लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सुरक्षा निगरानीलाई अझ सशक्त बनाएको जनाएको छ ।




