बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट प्रहरीले १० किलो ७ सय ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति मकवानपुरको मनहरी नगरपालिका ६ निवासी ३८ वर्षीय रवि थिङ हुन् ।
ना ३६ प २१७७ नम्बरको मोटरसाइकलमा सवार थिङलाई अमलेखगञ्जस्थित प्रहरी चेक प्वाइन्टमा रोक्न खोज्दा उनी फरार भएका थिए । प्रहरी टोलीले लखेट्दै जाँदा उनी गणेश मन्दिर नजिक फेला परेका थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा थिङको झोलाबाट ६ किलो गाँजा र मोटरसाइकलको इन्धन ट्याङ्कीभित्र लुकाइएको थप ४ किलो ७ सय ग्राम गाँजा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ ।




