सर्लाही । बालविवाह न्यूनीकरण र शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीहरूलाई लक्षित गर्दै लागू गरेको ‘प्रोत्साहन रकम’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । लामो समयदेखि जरा गाडेर बसेको बालविवाह र छोरीलाई शिक्षा नदिने परम्परालाई तोड्न आर्थिक प्रोत्साहनमार्फत गाउँपालिकाले सुरु गरेको यो अभियानले सकारात्मक परिणाम देखाउन थालेको छ ।
आर्थिक वर्ष २०७९/८० देखि लागू गरिएको योजनाअनुसार, कक्षा १२ पास गरी २० वर्ष पूरा गरेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरिँदै आएको छ । साथै, स्नातक तहमा भर्ना हुने छात्राहरूलाई क्याम्पस भर्ना शुल्कका लागि ११ हजार रुपैयाँसम्मको सहयोग दिइँदै आएको छ ।
उक्त योजनाले समुदायमा बालविवाहको दर घटाउनुका साथै छोरीहरूको शिक्षामा उल्लेखनीय सुधार ल्याएको छ । गाउँमा अझै पनि छोरीलाई धेरै पढाएर फाइदा छैन भन्ने मानसिकता कायम रहेका बेला, अभियानले चेतना जगाउने काम गरेको छ ।
विगतमा कक्षा ७ वा ८ पढ्दै गर्दा विवाह गराउने चलन व्यापक थियो । तर, आर्थिक प्रोत्साहन कार्यक्रमपछि छोरीहरूमा पढ्ने उत्साह जागेको छ । अब छोरीहरू उच्च शिक्षाको सपना देख्न र त्यसतर्फ अघि बढ्न थालेका छन् ।
२० वर्ष पूरा गरेर १२ कक्षा पास गरेपछि विवाह गर्ने छोरीहरूले गाउँपालिकाबाट प्राप्त प्रोत्साहन रकमको उपयोग आफ्ना शैक्षिक यात्रालाई निरन्तरता दिनमा गरेका छन् । यसले खास गरी विपन्न र पछाडि पारिएका समुदायका किशोरीहरूलाई विशेष लाभ पुर्याएको छ ।
हालसम्म गाउँपालिकाभित्र २० वर्ष उमेर पार गरेर १२ कक्षा उत्तीर्ण गरेपछि विवाह गर्ने ७८ जना र स्नातक तहमा भर्ना भएका २१० जना छात्राहरूलाई सम्मान र सहयोग प्रदान भइसकेको छ । अभियान सुरु भए यता बालविवाहको दरमा ५० प्रतिशतसम्मको गिरावट आएको तथ्याङ्कले देखाएको छ ।
हाल क्याम्पसहरूमा छात्राहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको छ । यो कार्यक्रमले शिक्षा र सशक्तिकरणको नयाँ ढोका खोलेको छ । यदि यस योजनालाई निरन्तरता दिइयो भने चन्द्रनगर गाउँपालिका निकट भविष्यमा बालमैत्री र शिक्षामैत्री गाउँपालिकाको उदाहरण बन्न सक्ने प्रष्ट संकेत देखिएको छ ।




