बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट करिब २ किलो ९ सय ९० ग्राम अफिमजस्तो देखिने लागूपदार्थसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ६ गमरिया निवासी ३२ वर्षीय सरोज प्रसाद साह रहेका छन् ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय अम्लेखगन्जबाट खटिएको टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र २–०३–००९ प ३८७८ नम्बरको मोटरसाइकल जाँच गर्दा साहलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले लागूपदार्थसँगै दुई थान मोबाइल फोन र नगद ९ हजार ४२० रुपैयाँसमेत बरामद गरेको जनाएको छ । पक्राउ परेका साहसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




