वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट नजिकबाट अवैध लागूपदार्थ चरेश र गाँजासहित चार जना पक्राउ परेका छन् ।
मंगलबार साँझ प्रहरीले भारततर्फ पैदल जाँदै गरेका भारत बिहार घर भएका ४५ वर्षीय विकास साह कानुलाई २ किलोग्राम चरेशजस्तो देखिने पदार्थ र एक थान मोबाइलसहित नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी सोही स्थानबाट मंगलबार साँझ नै ५ किलो ७ सय ५० ग्राम गाँजा र चार थान मोबाइलसहित तीन जना नेपाली नागरिक पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका ३ झवरा टोलका ४४ वर्षीय सुनिल बम्जन, २९ वर्षीय पञ्चलाल माझी र २१ वर्षीय मुकेश माझी रहेका छन् ।
उनीहरूलाई पनि प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




