बारा । बारा जिल्लाको फेटा गाउँपालिका ३ चौतारा नजिकबाट ७८ ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पञ्चायत २ बस्ने ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो । लागूऔषधसहित फेला परेपछि ट्याक्टर चालक टुटु कुमार र सवार टुटु अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बारामा राखिएको छ । लागूऔषध नियन्त्रण ऐन अन्तर्गत उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




