रौतहट । रौतहट ट्राफिक प्रहरीले यस वर्षको नौ महिनामा ११ हजार १ सय २५ सवारी चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाही गरेको छ । १ असारदेखि २६ चैतसम्मको अवधिमा गरिएको कारबाहीमा १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले दिए ।
यस अवधिमा बस, ट्रक, जीप, कार, भ्यान र मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई नियम उल्लंघनका आधारमा कारबाही गरिएको छ । प्रमुख ट्राफिक नियम उल्लंघनमा मदिरा सेवन गरेर गाडी चलाउने, ओभरलोड गर्ने, हेल्मेट र सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र नबोक्ने र गाडीको बत्ती बिग्रिएको लगायत घटनाहरू समावेश छन् ।
रौतहट ट्राफिक प्रहरीले राजस्व संकलन मात्र नभई दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि प्राथमिकता दिएको छ । यस वर्षको आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म रौतहट जिल्लामा ५३९ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु र ८९० जना घाइते भएका छन् । सवारी नियम उल्लंघनमा कडाइका साथ चेकजाँचलाई तीव्र पार्दै र सुरक्षा सुधारमा ध्यान दिएको ट्राफिक प्रहरीले जनाइएको छ ।




