रौतहट । रौतहटको पश्चिमी भेगमा पर्ने मौलापुर नगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।
गएराति मौलापुरबाट गम्हरिया गाउँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३, नौलाखा गेट नजिकै ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार ४५ वर्षीया सीता देवी साह कानु गम्भीर घाइते भइन् । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो, तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।
मृतक सीता देवीका श्रीमान् तथा मोटरसाइकल चालक लखीन्दर साह कानु घाइते भएका छन् । उनलाई पनि उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् ।
यद्यपि ट्याक्टर र त्यसका मालिक रामइश्वर साहलाई इलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ भने दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




