बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित छठीमाई घाटबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् भने तीन जना फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब ६२ किलो ५५० ग्राम गाँजासहित मकवानपुर हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेका बा ०२–०४२ प ७०९५ नम्बरको मोटरसाइकल र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा ती मोटरसाइकलमा सवार अन्य तीन जना व्यक्ति फरार भएका थिए ।
तर, विवेक थिङलाई नियन्त्रणमा लिएर मोटरसाइकलको तलासी लिँदा ४ वटा पोकामा राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो । फरार तीन जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




