सर्लाही । सर्लाहीको लालबन्दीमा प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लालबन्दी नगरपालिका १ नवलपुरका २५ वर्षीय सुशिल चौधरी रहेका छन् ।
बुधबार राति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले बा २० च १७८२ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो । गाडी मरिनबाट लालबन्दीतर्फ आइरहेको अवस्थामा चेकजाँचका क्रममा धानको भुस्साभित्र लुकाई छिपाई राखिएको करिब २४४ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चालक चौधरीलाई घटनास्थलमै नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । यस घटनाले सीमावर्ती र तराईका क्षेत्रमा बढ्दो लागूऔषध तस्करीप्रति चिन्ता थपिदिएको छ ।
प्रहरीले गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा तस्करीको सञ्जाल बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




