रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा चोरीको मोटरसाइकलसहित दुई जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पक्राउ पर्नेमा गरुडा नगरपालिका ४ का २० वर्षीय आशुतोष कुमार साह र १९ वर्षीय जयराम साह कलवार रहेका छन् ।
प्रहरीले जानकारी दिएअनुसार गत बुधबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० स्थित बालचनपुर चोक नजिक पश्चिम किनारमा निलो रंगको मोटरसाइकलसहित दुई युवालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
उनीहरूको साथमा रहेको BR30A8033 नम्बरको प्लेट भएको, इन्जिन नम्बर MD634AE8XM2B14650 र च्यासिस नम्बर AE8BM2114289 भएको टीभीएस कम्पनीको १६० सीसीको अपाचे मोटरसाइकलको कागजात माग्दा कुनै सवारी दर्ता प्रमाण, भन्सार दस्तावेज वा अन्य प्रमाण देखाउन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती युवाहरूले उक्त मोटरसाइकल चोरी गरेर ल्याएको पुष्टि भएपछि उनीहरूविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरिएको छ । हाल म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले जानकारी दिएका छन् । प्रहरीले मोटरसाइकलको वास्तविक धनीको खोजी कार्य पनि सुरु गरिसकेको छ ।




