बारा । पत्रकार हुँ भन्दै व्यापारीहरूलाई धाकधम्की दिई रकम असुल्ने कार्यमा संलग्न एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १० घडिअर्वाका ४५ वर्षीय विष्णु सर्राफ रहेका छन् । हाल उनी वीरगञ्ज १६ नगवा टोलमा बसोबास गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, सर्राफ आफूलाई पत्रकार बताउँदै बारा जिल्लामा क्रियाशील व्यापारी र व्यवसायीहरूलाई धम्की दिँदै आर्थिक लाभ उठाउने कार्यमा संलग्न रहेको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय बनेको थियो ।
सूचना पछि खोज तलास गर्दै जाँदा हिजो प्रसौनी गाउँपालिका ३ स्थित गण्डक चोकबाट सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बारा प्रहरीका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितका अनुसार, पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले यस्ता गैरकानुनी कार्यमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिने प्रयास समेत जारी राखेको बताएको छ । समाज सुधार गर्ने जिम्मेवारी बोकेको पत्रकारिता जस्तो संवेदनशील क्षेत्रको दुरुपयोग गरी आर्थिक अपराधमा संलग्न हुने कार्य निन्दनीय भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग समेत चुलिएको छ ।




