रौतहट । शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा लागेकै कारण रौतहटका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ को भर्ना अभियान प्रभावित बनेको छ । सरकारले वैशाख २ गतेदेखि ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु गरेपनि विद्यालयहरूमा विद्यार्थी उपस्थित हुने क्रम सुस्त छ ।
शिक्षक आन्दोलनकै कारण धेरै विद्यालयहरू शैक्षिक गतिविधिबाट पूर्ण रूपमा ठप्प छन् । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षणकार्य रोक्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण विद्यालय खोल्न नसकिएको र भर्ना अभियान पनि प्रभावहीन बनेको चन्द्रपुरका एक अभिभावक रामएकबाल साह बताउँछन् ।
उनका अनुसार, “शिक्षकहरूले आफ्ना माग सम्बोधन गर्न आन्दोलन गर्नु अस्वाभाविक होइन । तर विद्यालय बन्द गरेर बालबालिकाको भविष्य सँगै खेल्नु गलत हो ।” उनी भन्छन्, सरकारले पनि शिक्षकका जायज मागलाई गम्भीरतापूर्वक लिएर छिट्टै सम्बोधन गर्नुपर्छ ।
शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनको असर देखिए पनि निजि विद्यालयहरूले भने नियमित भर्ना अभियान अघि बढाइरहेका छन् । चन्द्रपुरस्थित एक नमुना आवासीय विद्यालयका सञ्चालक लोक श्रेष्ठका अनुसार विद्यालयमा नियमित तालिका अनुसार विद्यार्थी भर्ना भइरहेको छ ।
“पहिलाजस्तै विद्यार्थी भर्ना भइरहेका छन्, खासै वृद्धि भएको त छैन,” श्रेष्ठले भने । पूर्व शिक्षक अर्जुन दाहालका अनुसार, रौतहटका सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमको पठन पाठन, दिवा खाजा र छात्रवृत्तिका कार्यक्रमले विगतमा भर्ना अभियान सफल बनाएका थिए । तर अहिलेको आन्दोलनले यसमा गम्भीर असर पारेको छ ।
“शैक्षिक सत्र सुरु हुनुअघि नै आन्दोलन गर्नु दुखद हो,” उनले भने, “सरकारले गम्भीरतापूर्वक वार्ता गरेर समाधान खोज्नुपर्छ ।” चन्द्रपुर नगरपालिकाका शिक्षा अधिकारी दीपेन्द्र मण्डलका अनुसार, नगरभित्र रहेका अधिकांश ४६ सामुदायिक विद्यालय बन्द छन् ।
“प्रत्येक वर्ष कक्षा १ मा मात्रै ८/९ हजार विद्यार्थी भर्ना हुने गरेका थिए । तर यस वर्ष शिक्षक आन्दोलनकै कारण भर्ना प्रक्रिया अवरुद्ध भएको छ,” मण्डलले बताए । शिक्षकहरूले आफ्ना माग सम्बोधन नभएसम्म विद्यालय नखोल्ने अडान राखेका छन् । यस्तो अवस्थामा न बालबालिका समयमै विद्यालय जान सकिरहेका छन्, न सरकारको ‘शिक्षा सबैको हक’ भन्ने अभियान नै सार्थक देखिएको छ ।




