महोत्तरी । शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरेको छ ।
प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१” अन्तर्गत नगद रु १५,५५५ सहित सम्मान गरियो ।
कार्यक्रममा जनवादी लेखक संघ, सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफले विशेष क्षमताका दुई विद्यार्थी गरिमा परियार र दिनेश महतोलाई जनही रु ५,५५५ बराबरको छात्रवृत्ति प्रदान गरे ।
यस्तै, साहित्य प्रेमी मिना देवकोटाले सुस्मिता कट्वाललाई रु २,५५५ को छात्रवृत्ति प्रदान गरिन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिन्धुली, रामेछाप, उदयपुर लगायत जिल्लाबाट आएका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा गीत, गजल र कविता वाचन गरिएको थियो ।
वाचन गर्ने सर्जकहरूमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, डा. सुमन कर्माचार्य, बोधकुमार घिमिरे, डा. जो जोनसन, डा. जेनी हेरिङटन लगायतका स्रष्टा सहभागी थिए । कार्यक्रमका सहभागी सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमा देवी घिमिरेबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शारदा थापा, विष्णु खड्का, लम्बोदर काफ्ले लगायतले सम्बोधन गर्दै साहित्यिक योगदानको उच्च प्रशंसा गरे । कार्यक्रमको सञ्चालन नारद काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य भीमकुमार राउतले दिएका थिए ।
अन्त्यमा, केही अतिथिहरूको प्रतिक्रिया ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा लिइएको छ, जुन कार्यक्रम आउँदो शुक्रबार साँझ ५ बजे प्रशारण हुने बताइएको छ ।




