पर्सा । पर्सा जिल्लाका विभिन्न खोलाहरूबाट नदीजन्य पदार्थ ९गिट्टी, बालुवा, ढुंगा० को संकलन र बिक्री मार्फत स्थानीय तहले आन्तरिक स्रोत सृजन गरिरहेका छन् । तर, जिल्लाका केही खोलाहरूमा टेन्डर प्रक्रिया सम्पन्न भइसकेको भएपनि थुप्रै खोलामा भने टेन्डर हुन नसक्दा लाखौं रुपैयाँ बराबरको आम्दानी गुमेको छ । टेन्डर नभएका खोलाहरूमा भने अनियमित दोहन र चोरी तस्करी खुलेआम जारी छ ।
पटेर्वासुगौली गाउँपालिका अन्तर्गतको भलुवाही खोलाको टेन्डर ४८ लाख रुपैयाँमा लागेको छ भने जीराभवानी गाउँपालिका अन्तर्गतको सोही खोलाको टेन्डर २९ लाख ५० हजार रुपैयाँमा गरिएको छ । यी खोलाहरूबाट प्राप्त आम्दानीले सम्बन्धित पालिकाहरूको आन्तरिक राजस्वमा टेवा पुर्याएको छ ।
तर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाको सिमानामा पर्ने जमुनिया खोला भने विवादित बनेको छ । पटेर्वासुगौलीले दुई पटक टेन्डर आह्वान गरेपनि सिमाना विवाद र स्थानीयको असहयोगका कारण ठेकेदारहरू सहभागी हुन नचाहेपछि अहिलेसम्म टेन्डर लाग्न सकेको छैन ।
ऊर्जा इन्जिनियर निर्मल सिंहका अनुसार सिमाना विवाद समाधान भएपछि मात्र जमुनिया खोलाको टेन्डर प्रक्रिया अघि बढ्नेछ । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादवले खोलाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको बताउँदै आगामी आर्थिक वर्षमा टेन्डर गर्ने तयारीमा रहेको जानकारी दिए ।
जमुनिया खोलाबाट मात्रै वार्षिक ८० लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेकोमा टेन्डर नहुनुका कारण हालको आर्थिक वर्षमा सो रकम बराबरको आम्दानी गुमेको छ ।
त्यस्तै, पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया र सिंघाई खोलाको टेन्डर पनि अहिलेसम्म हुन सकेको छैन । वातावरणीय प्रतिवेदन ढिलाइ र पालिकाले समयमै टेन्डर आह्वान नगरेका कारण ठेकेदारहरू पनि उत्साहित नभएको बताइएको छ । पालिकाले दुई पटक टेन्डर आह्वान गरे पनि दुवै प्रयास विफल भएको हो ।
यी खोलाहरूको ठेक्का नलाग्दा पालिकाहरूले लाखौं रुपैयाँ बराबरको आन्तरिक राजस्व गुमाएका छन् । ठेक्का नलागेका खोलाहरूमा भने अवैध रूपमा गिट्टी, बालुवा, ढुंगा संकलन र तस्करी जारी रहेको छ । स्थानीय स्रोतका अनुसार बिहान सबेरै र राति ढल्केपछि तस्करहरू ट्याक्टरमार्फत नदीजन्य पदार्थ ओसार्ने काममा सक्रिय छन् ।
यस अवैध गतिविधिबाट पालिकालाई ठूलो आर्थिक क्षति पुगिरहेको छ, तर स्थानीय सरकार, सुरक्षा निकाय र वन कार्यालयहरू भने मौन रहेको देखिएको छ । ठेक्का प्रक्रिया नभएका खोलाको दोहन रोक्न कुनै पनि प्रभावकारी पहल नगरेको जनगुनासो बढ्दो छ ।
स्थानीयवासीहरूका अनुसार दैनिक ५० भन्दा बढी ट्याक्टरहरू खोलाबाट सामग्री तस्करी गर्ने गरेका छन् । सरोकारवाला निकायको उदासीनता र नियन्त्रण अभावले गर्दा यसले वातावरणीय सन्तुलनमा पनि गम्भीर असर पुर्याइरहेको छ ।




