जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्यायमाथि पदभार सम्हालेको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उपाध्यायसहित तीन जनाविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्बन्धी मुद्दा दायर गरेको हो ।
गृह, सञ्चार तथा कानून मन्त्रालय अन्तर्गत मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका उपाध्यायले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा मन्त्री राजकुमार लेखीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । तर, मंगलबार नै उनी भ्रष्टाचार मुद्दामा तानिएका छन् ।
आयोगका अनुसार उपाध्यायले केएस मल्टिपरपोज कम्पनीका अध्यक्ष रहेका बेला बाराको पचरौता नगरपालिकाबाट २०७७/०७८ मा सञ्चालित एक ठेक्का कार्यको सूचना राष्ट्रिय पत्रिकामा प्रकाशन नगरी केवल ‘प्रभाव दैनिक’मा मात्र छापेका थिए । उक्त प्रकाशनका लागि ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिइएको आरोप छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार, सूचना रेकर्डमा नराखी प्रक्रियाविपरीत कार्य गरिएको र यसबाट गैरकानुनी लाभ लिन खोजिएको ठहर गरिएको छ । उपाध्यायमाथि सार्वजनिक पदको दुरुपयोग गर्दै भ्रष्टाचारमा संलग्न भएको आशंकामा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।




