धनुषा । धनुषा जिल्लाको सहिदनगर नगरपालिका ५ स्थित बासुदेवपट्टीमा एक हृदयविदारक घटना घटेको छ, जहाँ एक आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएकी छन् । घटनामा तीन नाबालकको ज्यान गएको छ भने आमा आफै पनि गम्भीर अवस्थामा उपचाररत छिन् ।
३० वर्षीया बविता साहले सोमबार साँझ आफ्ना ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहलाई विष खुवाएकी थिइन् । त्यसपछि उनले पनि आत्महत्याको प्रयासस्वरूप विष सेवन गरेकी थिइन् । तीनै जना सन्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार विष सेवनपछि गम्भीर अवस्थामै रहेकी बवितालाई तत्कालै जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । हाल उनको अवस्था अत्यन्त गम्भीर रहेकाले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।
अझै मार्मिक कुरा त के छ भने बविता साह गर्भवती रहेको र उनको पेटमा रहेको ९ महिनाको शिशुलाई शल्यक्रिया (अप्रेसन) मार्फत जीवितै उद्धार गरिएको छ । बालकको अवस्था भने हालसम्म सार्वजनिक गरिएको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरायसी विवादकै कारण बविताले यस्तो कदम उठाएकी हुन् । ‘यसअघि पनि ती दम्पतीबीच बारम्बार झगडा हुने गरेको थाहा पाइएको छ,’ प्रहरी निरीक्षक यादवले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




