सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ८ मा एक पुरुष आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान करिब १० बजे ४८ वर्षीय श्याम कुमार गुप्ता मृत भेटिएपछि प्रहरीले घटनालाई शंकास्पद ठहर गर्दै तत्काल अनुसन्धान थालेको छ ।
मृतक गुप्तालाई उनकी छोरीले बिहान उठाउन खोज्दा ओछ्यानमै मृत अवस्थामा देखेकी थिइन् । घटनापछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो र प्रारम्भिक अनुसन्धानका आधारमा मृतककी श्रीमती गुञ्जा गुप्तालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मृतक अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति रहेको खुलेको छ । स्थानीय बासिन्दाका अनुसार गुञ्जा गुप्ता मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ, जसले घटनालाई अझ शंकास्पद बनाएको छ ।
प्रहरीले अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको वा श्रीमतीको संलग्नतामा हत्या भएको भन्ने दुवै कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




