महोत्तरी । झण्डै साढे १९ वर्षअघि भएको हत्या घटनामा फरार रहेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको एकडारा गाउँपालिका १ निवासी ६५ वर्षीय सुकेश्वर मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मण्डलले २०६२ साल कात्तिक २५ गते बिहान बर्दिबास नगरपालिका २ हलामटोलस्थित छत्रबहादुर हमालको खेतमा धान काट्ने क्रममा सामान्य विवादमा खुसनन्दन मण्डलको हत्या गरेका थिए । उनीहरू सँगै धान काट्न गएका थिए ।
प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार घटनाका क्रममा सुकेश्वर मण्डलले खुसनन्दन मण्डलको हात समाती कुटपिट गरी धारिलो हसियाले घाँटी रेटेर हत्या गरेका थिए । त्यसपछि उनी घटनास्थलबाट फरार भएका थिए ।
प्रहरीको लामो अनुसन्धान र खोजीपछि मंगलबार मण्डललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याएको थियो । प्रारम्भिक सोधपुछमा उनले हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
उनलाई महोत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




