वीरगंज । १५ महिना अघि वीरगंजमा भएको विवाह मण्डपमै बिहे तोडिएको घटनामा पर्सा जिल्ला अदालतले बेहुलासहित पाँच जनालाई कैद, जरिवाना र दाइजो रकम फिर्ता गर्न आदेश दिएको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मंगलबार विवाह सम्बन्धी कसूरमा दोषी ठहर गर्दै सबैलाई ६/६ महिनाको कैद र जनही ५/५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । साथै अदालतले दाइजो स्वरूप लिएको ५ लाख ६५ हजार रुपैयाँ पीडित बेहुली पक्षलाई फिर्ता गर्न आदेश दिएको छ ।
२०८० फागुन २८ गते वीरगंज महानगरपालिका २४ रामगढवास्थित बेहुलीको घरमा विवाहको तयारी भइसकेको अवस्थामा सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाद गर्दै विवाह तोडेका थिए । विवादका क्रममा कुटपिट समेत भएको थियो ।
सोही दिन राति बेहुला उमेश साह, उनका बुबा बच्चालाल साह गोढ, दाजुहरू राकेशकुमार र मुकेशकुमार साह तथा भिनाजु रामएकबाल साहलाई प्रहरीले बेहुलीको घरबाटै नियन्त्रणमा लिएको थियो ।
बेहुली पक्षको जाहेरीका आधारमा उनीहरूविरुद्ध विवाह सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको थियो । प्रारम्भमा अदालतले पाँचै जनालाई धरौटीमा रिहा गरेपनि अब उक्त मुद्दाको अन्तिम सुनुवाइमा दोषी ठहर गर्दै कारबाहीको फैसला सुनाएको हो ।
बेहुला उमेश साह वीरगंज महानगरपालिका अन्तर्गत जनस्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् । अदालतको यो फैसला दाइजोका कारण हुने सामाजिक विकृति विरुद्धको कडाइका रूपमा हेरिएको छ ।




