सिरहा । सिरहामा कक्षा १२ को परीक्षा केन्द्र निर्धारणका क्रममा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय, लहानका कर्मचारीहरूमाथि व्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ । बोर्डका कर्मचारीहरूले केन्द्र निर्धारणका नाममा सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लामा विद्यालयहरूसँग लाखौं रुपैयाँ असुल गरेको तथ्य बाहिर आएको हो ।
विद्यालय सञ्चालकहरूका अनुसार बोर्डका कर्मचारीहरूले परीक्षा केन्द्र आफूले चाहेको ठाउँमा पारिदिने नाममा प्रति विद्यालय ५० हजारदेखि दुई लाख रुपैयाँसम्म ‘घुस’ मागेको पुष्टि गरेका छन् । नाम नखुलाउने सर्तमा एक विद्यालय सञ्चालकले भने, “परीक्षा केन्द्र तोक्न बोर्डका शाखा अधिकृत चन्द्रदेव यादवलाई सम्पर्क गर्दा उनले खुलेरै पैसा मागे ।”
हामीले विद्यालय सञ्चालकको रूपमा चन्द्रदेव यादवलाई फोन गर्दा उनले नै भने, “तपाईं लाली गुराँस इङ्लिस बोर्डिङ स्कुलका सर हो ? तपाईंको केन्द्र त शंकर पब्लिक एकेडेमीमै परेको छ । सूची हेर्नुस्, भनेकै ठाउँमा केन्द्र पारिदिएको छु ।” उनको भनाइले परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल भएको पुष्टि भएको स्थानीयको भनाइ छ ।
लहानस्थित बोर्ड कार्यालयले सार्वजनिक गरेको परीक्षा केन्द्रहरूको सूची हेर्दा पनि गम्भीर असमानता देखिन्छ । केही विद्यालयलाई नजिकै केन्द्र तोकिएको छ भने केहीलाई १०/१२ किलोमिटर टाढासम्म पठाइएको छ । यसले आर्थिक लेनदेनको आधारमा केन्द्र निर्धारण गरिएको देखिन्छ ।
यस बारेमा बोर्डको क्षेत्रीय कार्यालय, लहानका प्रमुख धनपति भेटवालसँग सम्पर्क गर्दा उनले आर्थिक चलखेलको कुरा स्वीकार गरे पनि लेनदेनको रकम ठूलो नभएको दाबी गरे । तर, एक सामुदायिक विद्यालयका प्रधानाध्यापकका अनुसार केन्द्र तोक्न भेटवालले स्पष्ट रूपमा दुई लाख रुपैयाँ मागेका थिए ।
प्रधानाध्यापकले भने, “भेटवालले भने, दुई लाख रुपैयाँ छ भने मात्रै तपाईँले चाहेको ठाउँमा केन्द्र पार्छु । विना पैसाको केन्द्र हुँदैन । विद्यार्थीसँग पैसा उठाउने, हामी भने टुलुटुलु हेरेर बस्ने ?”
यसपालि कक्षा १२ को परीक्षाका लागि बोर्डले सिरहामा ३०, सप्तरीमा २७, उदयपुरमा १७, खोटाङमा १० र ओखलढुंगामा ९ परीक्षा केन्द्र तोकेको छ । यी केन्द्रहरूमा करिब २७ हजार विद्यार्थी सहभागी हुँदैछन् ।
यसअघि सम्पन्न एसईई परीक्षामा पनि सिरहामा परीक्षा केन्द्र निर्धारणमा लाखौं रुपैयाँको असुली भएको सार्वजनिक भइसकेको छ । तर, हालसम्म कुनै कारबाही नहुँदा राज्यका जिम्मेवार निकायहरू नै भ्रष्टाचारको संरक्षक बनेको अभिभावकहरूको आरोप छ ।
स्थानिय रामेश साह भन्छन्, “शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार मौलाउनु दु:खद छ । अन्य सरकारी कार्यालयभन्दा फरक रुपमा हेर्नुपर्ने शिक्षा क्षेत्रमा यस्तो विकृति हुनु भनेको सरकार आफैंले भ्रष्टाचारीलाई संरक्षण गरेको संकेत हो ।”




