रौतहट । रौतहटमा एक १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । हत्या पश्चात बालकको शव चाँदी खोलामा फालिएको अवस्थामा फेला परेको हो । हराएको पाँच दिनपछि शव पानीमा घोप्टो परेको अवस्थामा भेटिएको हो ।
वृन्दावन नगरपालिका ७ निवासी सुरुज राय यादवका छोरा कृष्ण प्रसाद यादवको शव गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा आज बिहान ९ बजे फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए ।
शव फेला परेको जानकारीसँगै डिएसपी कार्कीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक जाँचका आधारमा डिएसपी कार्कीले बालकको पेट र कञ्चटमा गहिरो चोट देखिएको हुँदा धारिलो हतियार प्रयोग गरेर कर्तव्यपूर्वक हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
शवमा किरा लागिसकेको अवस्थामा फेला परेपछि पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ । गत ६ गते साँझ करिब ४ बजे कृष्ण प्रसाद यादव “बिर्ता गाउँ जान्छु” भन्दै आफ्नै मोटरसाइकल चढेर घरबाट निस्किएका थिए ।
तीन दिनसम्म घर नफर्किएपछि परिवारले ९ गते जिल्ला प्रहरी कार्यालयअन्तर्गत जेष्ठ नागरिक, महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा खोज तलासको निवेदन दिएका थिए । प्रहरीका अनुसार बालकले चढेको मोटरसाइकल अझै फेला परेको छैन । घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।




