राजविराज । भारतीय कपडा चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा श्याम वस्त्रालयका प्रोप्राइटर श्यामप्रसाद गुप्ताविरुद्ध उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागले गुप्तामाथि १० करोड ६८ लाख ५५ हजार ७९५ रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित मुद्दा दायर गरेको हो । विभागले बिगो असुलउपर गरी सोही रकम बराबरको १०० प्रतिशत जरिवाना सहित कुल २१ करोड ३७ लाख ११ हजार ५९० रुपैयाँ असुलउपरको मागदाबी गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरीमार्फत अनुसन्धान सम्पन्न गरी आइतबार अदालतमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार, सिरहा जिल्लाको लहान नगरपालिका ८ स्थित श्याम वस्त्रालयमा गरिएको खानतलासीका क्रममा गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को खण्ड (क), (ख) र (झ) अनुसारको कसुर गरेको प्रमाणित भएको हो ।
अनुसन्धानबाट श्याम वस्त्रालयमार्फत भारतबाट अवैध रूपमा कपडा चोरी पैठारी गरी राजस्व छलिएको पुष्टि भएको विभागले जनाएको छ । अब उच्च अदालत जनकपुर, राजविराज इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै कानुनी कारबाही प्रक्रिया अघि बढाउनेछ ।




