बारा । पथलैया–हेटौंडा सडक खण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित ३ नम्बर पुल नजिक भएको सवारी दुर्घटनामा १९ जना घाइते भएका छन् ।
कोइला लोड गरेर सडक किनारामा बिग्रेर रोकिराखेको ट्रकमा काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो ।
बसले ट्रकमा ठक्कर दिँदा अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभद्रा तामाङले जानकारी दिइन् ।
पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ५१८७ नम्बरको ट्रक सडकमा बिग्रेर रोकिराखेको थियो । सोही ट्रकमा पोखरा जाँदै गरेको बसले ठक्कर दिँदा बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




