बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोलका २९ हजार ६५० ट्याब्लेटसहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम अरेराज मलाही ११ निवासी २३ वर्षीय नितिश कुमार ठाकुर र पर्सा, वीरगंज महानगरपालिका १६ निवासी २६ वर्षीय सिद्धान्त प्रसाद पटेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ०५–बिए–४८१७ नम्बरको कार चेकजाँच गर्दा सो परिमाणमा लागूऔषध ट्रामाडोल फेला परेको हो ।
कारका चालक नितिश ठाकुर र सवारीमा सवार सिद्धान्त पटेललाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अम्लेखगञ्जले जनाएको छ ।




