वीरगञ्ज । नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूको हालै सम्पन्न बैठकमा खुला सीमा भएर ओहोरदोहोर गर्ने नागरिकहरूले अनिवार्य रूपमा परिचयपत्र देखाउनु पर्ने सहमति भएको छ ।
भारत, बिहारको पश्चिम चम्पारणस्थित तीनलालटेनमा सम्पन्न बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरूले अबदेखि खुला सीमाबाट यात्रा गर्ने व्यक्तिहरूले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने निर्णय गरेका हुन् । यस निर्णयको उद्देश्य सीमा सुरक्षालाई बलियो बनाउँदै आतङ्कवादी गतिविधि र अवैध आवतजावत नियन्त्रण गर्नु रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
बैठकमा सहभागी एक नेपाली सुरक्षा अधिकारीका अनुसार, पछिल्लो समय भारतमा आतङ्कवादी गतिविधिहरू बढिरहेका छन् भने पाकिस्तानसँग सम्बन्धित आतङ्ककारीहरू नेपाल हुँदै भारत प्रवेश गर्न सक्ने सम्भावना रहेको छ । त्यसैले खुला सीमाको दुरुपयोग रोक्न परिचयपत्र अनिवार्य बनाइएको हो ।
साथै, बङ्गलादेशी नागरिकहरूको पनि पछिल्ला दिनहरूमा सीमाबाट अवैध प्रवेश बढेको पाइएको छ । यस्तो गतिविधिमा रोक लगाउन परिचयपत्र प्रणालीले सहयोग पुर्याउने भारत र नेपाल दुबै पक्षका सुरक्षाकर्मीहरूको ठहर रहेको छ ।
यसअघि हवाई तथा रेलमार्गबाट नेपाल–भारत यात्रा गर्दा परिचयपत्र देखाउनुपर्ने व्यवस्था भए पनि सीमा नजिकका बजारहरूमा आवतजावत गर्ने स्थानीय नागरिकहरूलाई परिचयपत्र देखाउनुपर्ने व्यवस्था थिएन । अब भने खुला सीमाको जुनसुकै बिन्दुबाट यात्रा गर्दा पनि परिचय खुल्ने कागजात अनिवार्य हुने बताइएको छ ।
बैठकमा भारततर्फबाट एसएसबीका ४४ र ४७ बटालियनका सुरक्षा अधिकारीहरू सहभागी थिए भने नेपालतर्फबाट पर्सा र बाराका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र खुमबहादुर केसीको सहभागिता थियो । यस्ता सीमा सुरक्षा बैठकहरू नेपाल र भारतमा आलोपालो रूपमा नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।




