पर्सा । दुई महिनाअघि मात्रै खुलेको पोखरिया स्थित भूमिसुधार तथा मालपोत कार्यालय सेवा केन्द्रमा बिचौलियाको प्रभाव बढ्दै गएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । वीरगंजको मालपोत कार्यालयको जस्तै अवस्था अहिले पोखरियामा दोहोरिएको छ, जहाँ बिचौलिया विना काम गर्न असम्भवजस्तै भएको सेवाग्राहीहरूको भनाइ छ ।
एक जना सेवाग्राहीका अनुसार कार्यालयमा प्रवेश गर्दा नै बिचौलियाहरूले घेर्ने र आफू कर्मचारी सरह फाँटफाँटमा पुगेर काम गराइदिने भन्दै रकम असुल गर्ने प्रचलन बढेको छ । बिचौलियाहरूको सञ्जाल यति सक्रिय रहेको छ कि कर्मचारीसम्म सीधै पुगेर काम गर्न खोज्ने सेवाग्राहीहरूलाई झन्झट र ढिलासुस्ती व्यहोर्नुपरेको उनीहरूको आरोप छ ।
यसअघि वीरगंजस्थित मालपोत कार्यालयमा पनि बिचौलियाको वर्चस्व बढेपछि लेखनदासहरूलाई फाँटभित्र प्रवेश निषेध गरिएको थियो । लेखापढी व्यवसाय बाहिरै सीमित गरिएको र अनलाइन प्रणाली लागू गरेपछि बिचौलियाको प्रभाव केही हदसम्म घटाइएको थियो । पोखरियामा समेत अनलाइन सेवा सञ्चालनमा रहे तापनि लेखनदासको नाममा बिचौलियाहरू सक्रिय छन् र सेवाग्राहीलाई ठग्ने क्रम नरोकिएको गुनासो आएको छ ।
एक सेवाग्राहीका अनुसार सीधै कर्मचारीमार्फत काम गराउँदा अनावश्यक कागजातको माग गरेर हैरानी दिने गरिन्छ, तर त्यही काम बिचौलियामार्फत सहजै सम्पन्न हुन्छ । एक स्रोतले दिएको जानकारी अनुसार हाल कार्यालयमा करिब छ जना सक्रिय बिचौलिया रहेका छन्, जसलाई कर्मचारीहरूले नै सहजता पुर्याउने गरेका छन् ।
पोखरिया नगरपालिकाले कार्यालयमा नगर प्रहरी पनि खटाएको छ, तर उनीहरूले सेवाग्राहीलाई कर्मचारीसँग भेट्न नदिई बिचौलियामार्फत आउनेलाई भने नरोकेको गुनासो छ । बिचौलियामार्फत अवैध रूपमा कमाइ गर्ने मिलेमतो भएको सेवाग्राहीहरूको आरोप छ ।
यस विषयमा कार्यालय प्रमुख रामजी साहले हालसम्म कसैले औपचारिक गुनासो नगरेको बताएका छन् । उनले गुनासो प्राप्त भएमा कारबाही प्रक्रिया अघि बढाइने र आफूले पनि यस विषयमा छानबिन गर्ने आश्वासन दिए ।




