सर्लाही । सर्लाही जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । पछिल्लो समय ट्राफिक नियमको उल्लङ्घनले सडक दुर्घटना बढेपछि यस्तो कदम चालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख ट्राफिक निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
उनका अनुसार पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका विभिन्न भित्री सडकहरूमा दैनिक ट्राफिक चेकजाँच जारी छ । “ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढिरहेका छन्,” निरीक्षक घिमिरेले भने, “त्यसैले हामी कडाइका साथ नियमको पालना गराइरहेका छौँ ।” नियम उल्लङ्घन गर्नेहरूलाई जरिवाना तिराउनुका साथै आवश्यक जनचेतनामूलक सन्देश पनि दिइएको उनले बताए ।
निरीक्षक घिमिरेका अनुसार ट्राफिकको उद्देश्य जरिवाना उठाउनु होइन, दुर्घटना न्यूनीकरण गर्नु हो । “हामी चाहन्छौँ कि सवारी चालक स्वयं सचेत भएर नियम पालना गरून्, ताकि दुर्घटना र मानवीय क्षति न्यून होस्,” उनले भने ।
उनले सवारी चालक, सहचालक, यात्री र पैदलयात्रीहरूसँग नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । कार्यक्रममा उनले भने- “ट्राफिक प्रहरीलाई झुक्याएर सवारी चलाउनु सजिलो होला, तर त्यसबाट हुने दुर्घटनालाई रोक्न कसैसँग क्षमता हुँदैन । त्यसैले सचेत रहनुहोस् ।”
ट्राफिक नियम उल्लङ्घनका सामान्य कारणहरूमा तीव्र गति, मादक पदार्थ सेवन, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु वा सामान बोकेर सवारी चलाउने र लाइसेन्स बिना सवारी चलाउने प्रमुख छन् । यस्ता सवारीहरू चेकजाँचका क्रममा बढीजसो फेला पर्ने गरेका छन् ।
सर्लाही ट्राफिक कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा सवारी दुर्घटना न्यूनीकरणका लागि १,५२० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ८३,७८५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
कार्यक्रमहरूमा ‘अन द स्पट अवेयरनेस’, यान्त्रिक परीक्षण, सवारी चेकजाँच, ‘२ मिनेट कार्यक्रम’, विद्यार्थीहरूका लागि सचेतनामूलक सत्र, चालक-सहचालकको आँखा परीक्षण, उखु बोक्ने सवारीमा टल्किने ब्यानर टाँस्ने र ट्राफिक स्टल प्रदर्शनी जस्ता गतिविधि समावेश छन् ।
ट्राफिक नियम उल्लङ्घनका कारण नौ महिनाको अवधिमा १५,५२४ वटा सवारी साधनमाथि कारबाही गरी सर्लाही ट्राफिक प्रहरीले १ करोड ५५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्लामा सडक दुर्घटना क्रमश: घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९/८० मा ९०२ दुर्घटनाबाट ६७ जनाको मृत्यु भएको थियो भने २०८०/८१ मा दुर्घटना घटेर ६१५ मा सीमित भएको र मृत्यु हुनेको सङ्ख्या ६२ रहेको थियो । चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ६२२ दुर्घटनामा ३७ जनाको मृत्यु र १,१०१ जना घाइते भएका छन् ।
हाल सर्लाही ट्राफिक मातहतमा ११ वटा ट्राफिक युनिट सक्रिय छन् । ट्राफिक निरीक्षक घिमिरेले सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई नियम पालना गर्न अपिल गर्दै भने- “दुर्घटना कसैले चाहेर हुँदैन, लापरवाहीले हुन्छ । त्यो लापरवाही हामी सबैबाट नहोस् भन्ने हाम्रो प्रयास हो ।”




