पर्सा । बारा, कलैया उपमहानगरपालिका १८ निवासी २६ वर्षीय सुधिर प्रसाद साहको अपहरण गरी फिरौती रकम माग गरेको अभियोगमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा, वीरगंज महानगरपालिका १२ मुर्ली निवासी २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका ३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुधिरलाई अपहरण गरी वीरगंज १२ मुर्लीस्थित एक घरमा बन्धक बनाई फिरौती मागिएको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
सोही घरबाट उनलाई सकुशल उद्धार गर्दै अपहरणमा संलग्न रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




