सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ३ जब्दी र ईश्वरपुर नगरपालिका ८ रामपुरलाई जोड्ने फूलजोर खोलाको पुल जीर्ण अवस्थामा पुगेको छ । पुलको दुबै छेउमा ठूलो खाल्डो परेपछि सवारी आवागमन जोखिमपूर्ण बन्दै गएको छ ।
वर्षौंदेखि मर्मत नहुँदा पुलको सतह कमजोर बनेको र हिँड्नसमेत कठिन हुन थालेको स्थानीयवासीहरूको गुनासो छ । नियमित रूपमा साना तथा ठूला सवारी साधनहरू सञ्चालन हुने यो पुलमा अहिले पैदल यात्रीहरू समेत त्रासका साथ आवतजावत गर्न बाध्य छन् ।
एक स्थानीयका अनुसार पुलको छेउछाउमा परेका खाल्डाका कारण स्कुटर र मोटरसाइकल दुर्घटनामा पर्ने जोखिम उच्च भएको छ । “पुल भत्किने अवस्थामा पुगिसक्दा पनि सम्बन्धित निकायले चासो देखाएको छैन,” उनले गुनासो गरे ।
पुल नजिकै कुनै वैकल्पिक मार्ग समेत नभएकाले मर्मत कार्य तत्काल नगरे ठूलो दुर्घटना निम्तिन सक्ने स्थानीयहरूको भनाइ छ । उनीहरूले स्थानीय तह तथा निर्माण सम्बन्धी निकायसँग छिटोभन्दा छिटो मर्मत कार्य थाल्न आग्रह गरेका छन् ।
तर अहिलेसम्म स्थानीय सरकार वा सम्बन्धित प्राविधिक निकायले यस बारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।




