रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व–पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको ज्यान गएको छ । शनिबार बिहान सवा ६ बजे भएको उक्त दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहीटोल निवासी ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको बा ६ च ३५२६ नम्बरको कारले निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका मोटरसाइकल चालक बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो ।
उनलाई तत्कालै चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर अस्पताल लगिएको भएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । त्यसैगरी मोटरसाइकलमा सवार उनकी छोरी उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बारा स्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।
अस्पतालमा बिहान ९ बजे उपचारको क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार र चालक हेटौँडा उपमहानगरपालिका १२ निवासी ४३ वर्षीय कुमार पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।




