सिराहा । सिरहा नगरपालिका १७ खटोकास्थित अजय होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब ५ ग्राम ४८० मिलिग्राम पदार्थसहित होटल सञ्चालकलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति भारतको मधुबनी जिल्ला, कमलाकारी ग्रामपञ्चायत ६ निवासी ३५ वर्षीय धर्मेन्द्र यादव हुन् । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले अजय होटलमा तलासी गर्दा उक्त लागूऔषध फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार धर्मेन्द्र यादव होटल सञ्चालकको हैसियतमा नेपालमा बसेर अवैध लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनास्थलबाट बरामद ब्राउनसुगरसहित यादवलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिए ।




